TDS-Tax Deduction at Source or Withholding Tax or PAYE
यस वर्षको नायब सुब्बामा सोधिएको भुक्तानीमा करकट्टी सम्वन्धी जानकारी । जसलार्इ TDS-Tax Deduction at Source or Withholding Tax पनि भनिन्छ ।
आयकर ऐन २०५८ ले तोकिएका भुक्तानीमा भुक्तानी गर्दाका बखत निश्चित दरमा लाग्ने कर अग्रिम रुपमा कट्टी गर्ने व्यवस्थालाई अग्रिम कर कट्टी भनिन्छ । अग्रिम कर कट्टीलाई स्रोतमा कर कट्टीपनि भनिन्छ । यो कमाएको बखत नै कर तिर्ने Pay as You Earn-PAYE भन्ने सिद्धान्तमा आधारित छ । करदातालाई कर भुक्तानी र सरकारको कर संकलन लागत घटाउन यस्तो प्रणाली अपनाउने गरिन्छ । अग्रिम कर कट्टी गर्दा करदातालाई करको भार पनि नपर्ने, करदाता आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गइरहनु नपर्ने, करदाताले विवरण पेश गरिरहनु नपर्ने, बढी करदाताहरु करको दायरामा आउने, असंगठित क्षेत्र वा निस्कृय आय हुने व्यक्ति करको दायरामा आउने र सरकारलाई पनि समयमै राजस्व प्राप्त हुने हुनाले यो कर संकलन विधि उपयुक्त मानिन्छ । अग्रिम कर कट्टी भुक्तानी गर्दाका बखत वा खर्च लेख्दाका बखत जुन अगाडि हुन्छ त्यही समयमा गर्नु पर्दछ । यस्ता भुक्तानी लिने व्यक्तिले अग्रिम कर कट्टी कट्टा गरे पछिको रकम मात्र भुक्तानी प्राप्त गर्दछन् । अग्रिम कर कट्टी हुने भुक्तानीमा कर कट्टी गर्नु भुक्तानी दिनेको मात्र दायित्व नभई भुक्तानी लिने र दिने दुबैको दायित्व हो । अग्रिम कर कट्टीले गर्दा भुक्तानी लिनेको कर दायित्व बढ्दैन, भुक्तानी दिने मार्फत कर दायित्वको अग्रिम भुक्तानी हुने मात्र हो ।
अग्रिम कर कट्टी प्रणाली सर्व प्रथम सन् १९०५ मा वेलायतले शुरु गरेको हो । यो आधुनिक आयकर व्यवस्थाको एक महत्वपूर्ण व्यवस्था हो । नेपालको आयकर असूलीमा यसको महत्वपूर्ण योगदान छ ।